30/05/2026
“रेशम फिरिरी रेशम फिरिरी
उडेर जाउँ कि डाँडामा भञ्ज्याङ रेशम फिरिरी...”
रेशम फिरिरी : नेपाली लोक आत्माको उडान
—४३ वर्ष बाँचेका गायक सुन्दर श्रेष्ठको सांगीतिक यात्रा...............................................
केही गीत केवल गीत हुँदैनन्,
समयको प्रतिनिधि स्वर सँगै
युगको स्मृति बनेर
पुस्तौँसम्म मनमनमा बसिरहन्छन्।
‘रेशम फिरिरी’
त्यस्तै एउटा अमर लोकधुन हो,
जुन गीतले
नेपाली माटोको गन्ध,
पहाडी सुस्केरा,
मेलापातको उल्लास,
र जनजीवनको ढुकढुकी बोकेको छ।
धनकुटाको हरियालीबीच
२००९ सालमा जन्मिएका
सुन्दर श्रेष्ठ
सानैदेखि कला र संस्कृतिप्रेमी थिए।
हँसिलो स्वभाव,
ठट्टा गर्न रुचाउने,
साथीभाइसँग रमाउने
सुन्दर
वास्तविक जीवनमै पनि
सुन्दर व्यक्तित्वका थिए।
जीवनशैली पनि सरल थियो।
गरिबीमा हुर्किएको त्यो बालक
लोकभाकामा मन पगाल्थ्यो ।
लोकधुनहरूमा रमाउँथ्यो,
मेलापातका स्वरहरू,
र जनजीवनका कथाहरू
उनको चेतनामा अंकुराउँदै थिए ।
सुन्दर श्रेष्ठ
बाल्यकालदेखि नै गाउँघरका कार्यक्रममा गाइरहन्थे।
उनको सुरिलो स्वरले
छरछिमेकका मन जितिसकेको थियो।
स्थानीय सांस्कृतिक कार्यक्रममा
पुरस्कारहरू जित्दै,
वि.सं. २०२४ सालमा
लोक कलाकार साथीहरूसँग
उनी काठमाडौं हानिए ।
रेडियो नेपालको आँगन
सङ्गीतको फुलबारी,
सङ्गीतका मालीहरू वरपर,
उनको वाद्य कलाले सबैको ध्यान खिच्यो ।
गीत गाउने
र बाजा बजाउने जिम्मेवारी पाए।
मादल, बाँसुरी
र सारङ्गीको प्रयोगमा
विशेष सिपालु उनी,
लोकगीतमा सङ्गीत संयोजन गर्न थाले।
सहृदयी र मिजासिलो स्वभावले
रेडियो नेपालमा
उनले धेरै साथी र सम्मान कमाए।
अभाव पीडाले सर्जक बनेका
वुद्धि परियारको सङ्कलनमा
सामाजिक यथार्थको झिल्का थिए।
उनैबाट सुन्दरले
आफ्नो लोकस्वरको दिशा भेटे।
२०२८ सालतिर
रेडियो नेपालको लोकगीत सूचीमा
‘रेशम फिरिरी’ दर्ता भयो-
दर्ता नम्बर २६।
गायनमा
द्वारिकालाल जोशीको साथ पाएपछि
विशाल समुद्रको आकारमा फैलियो ।
त्यो केवल एउटा गीतको दर्ता थिएन,
नेपाली ग्रामिण परिवेशको
एक ऐतिहासिक स्मृति थियो।
सुरुमा
सुन्दर श्रेष्ठ र सन्तोष बस्नेतले
‘रेशम फिरिरी’ गाए ।
जति उक्लिनु पर्ने हो गीत उक्लिएन।
पछि
द्वारिकालाल जोशीसँगको सहगायनले
गीतलाई चरम चुलीमा पुर्यायो।
गीतमा
सारङ्गीको विरह,
मादलको उत्सव
र बाँसुरीको पहाडी मिठास मिसिएको थियो।
त्यो गीत
नेपालका गाउँबेँसीमा मात्र होइन,
अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत गुञ्जियो।
नेपाल घुम्न आउने विदेशी पर्यटकहरूको
पहिलो रोजाइ बन्न पुग्यो।
उनका गीतहरू
एकपछि अर्को लोकप्रिय बन्दै गए।
“तिमीलाई भनी ल्याइदेको साडी चोलो है...”
गीतले उनलाई अझ चर्चित बनायो।
उक्त गीतमा
ओमकार श्रेष्ठले साथ दिएका थिए।
नवीन किशोर राईको सङ्कलनमा
बी.के. रानासँग स्वर फुरेको
“झम्काउली नानी रेशमको फरिया”
लोकप्रिय बन्दै गयो ।
“उकालीमा पनि हजुर मोटर जाँदो रैछ...”
उनकै रचना तथा सङ्गीत रहेको गीत
तीर्थकुमारीसँग गाएपछि
उनका स्वरहरू
तराईबाट पहाड हुँदै
हिमाल सर्दै गए ।
“माया तिमीले गरेनौ वास्ता”,
“घर त लगन खेल”,
“किर्लिङ किर्लिङ झ्याइँ”
जस्ता गीतहरूले
उनको उचाईलाई
लोकसङ्गीतको हिमचुलीमै पुर्यायो ।
कलाकार र मान्छे” बीचको दूरी
तर जीवनको नदी
एकनासले कहाँ बग्छ र !
मध्यपानबाट टाढा रहन सकेनन्।
स्वास्थ्य कमजोर बन्दै गयो।
सङ्गीतमा जस्तो अनुशासन
जीवनशैलीमा देखिएन ।
अन्ततः
४३ वर्षको अल्पायुमै
नेपाली लोकसङ्गीतले
आफ्नो प्रिय स्वर गुमायो।
पत्नी
सरिता श्रेष्ठको जीवनमाथि खसेको
सबैभन्दा ठुलो पहिरो थियो।
जो असह्य थियो।
शुभेच्छुकहरूको माया र साथले मात्र
विधिको क्रूरतालाई रोक्न सकेन।
दुर्भाग्य,
त्यसको चार महिनापछि
सरिता पनि संसारबाट बिदा भइन्।
सुन्दर र सरिताका
दुई छोरी र एक छोरा
अकल्पनीय पीडामा डुबे।
आज
सुन्दर श्रेष्ठ भौतिक रूपमा हामीमाझ छैनन्,
तर
गाउँको आगनमा जन्मिएको गीत
रेडियोको तार हुँदै
विश्व मञ्चसम्म पुग्यो।
मेलापातमा,
चाडपर्वमा,
गाउँघरको उत्सवमा,
विदेशी मञ्चहरूमा समेत
“रेशम फिरिरी” घन्किरहेकै छ।
उनी गए,
तर
नेपाली लोकसङ्गीतमा
अजर र अमर बनेर बसे।
सुन्दर श्रेष्ठले
एकल तथा विभिन्न कलाकारहरूसँग मिलेर
“रेशम फिरिरी”,
“मुलाको चाना”,
“हाँस्ने खेल्ने”,
“थापा है थली”,
“तिमीलाई भनी ल्याइदेको”,
“सतगुरु राम”,
“तमोर खोला सौता माथि”,
“बोल बोल नबोली हुँदैन”,
“दाहिने सलाम”,
“साली काली”,
“घिन्ताङ घिन्ताङ”,
“पूर्वबाट”,
“पारी पाखैमा”,
“शिरमा टोपी कम्मरैमा पटुकी”,
“तालको माछा छेउ लाग्यो छल्काले”
जस्ता थुप्रै लोकप्रिय गीतहरू गाए।
कतिपय गीतमा
नवीन ढुङ्गेल,
हिरादेवी राई,
तीर्थकुमारी
र द्वारिकालाल जोशीले
उनलाई साथ दिएका थिए।
‘रेशम फिरिरी’
केवल एउटा लोकधुन मात्र थिएन,
पहाडी हावामा बग्ने
नेपाली आत्माको अमेट स्मृति थियो ।
गीत समयसँगै पुरानो भएन,
बरु प्रत्येक पुस्तासँगै नयाँ हुँदै गयो।
डाँडाभञ्ज्याङ चढ्ने युवाको सास,
मेलापातमा रम्ने युवतीको हाँसो,
अनि परदेशिँदै गरेको मनको विरह
पनि त्यसभित्रै लुकेको थियो ।
सुन्दर श्रेष्ठको स्वर मौन भयो,
तर
उनका गीतहरू
अझै नेपाली पहाडहरूको सास बनेर
बाँचिरहेका छन्।
゚viralシ