14/12/2025
इतिहासअनुसार कार्यविनायक मन्दिर नेपाल संवत् ७८१ (ई.स. १६६१ तिर) चैत महिनाको चौथो बिहीबारका दिन स्थानीय अगुवा पूर्ण सिंहको नेतृत्वमा त्यतिबेलाका ११ जना स्थानीय बाँदा (शाक्य) समुदायका व्यक्तिहरूले स्थापन गरिएको उल्लेख पाइन्छ । यो मन्दिर मल्लकालको समयमा बनेको मानिन्छ र त्यसबेला पाटनमा राजा श्रीनिवास मल्लको शासन शुरू भएको समयसँग यसको कालखण्ड मेल खान्छ।देवता र धार्मिक महत्वमन्दिरभित्र मूलरूपमा स्वयंभू ढुंगाको आकृति रहेको छ, जसलाई गणेशको प्राकृतिक स्वरूप मानेर पूजा गरिन्थ्यो, पछि सो ढुंगालाई कलात्मक चाँदीले आवरण दिई मूर्तिको रूपमा स्थापित गरिएको हो। कार्यविनायकलाई उपत्यकाका चार विख्यात विनायकमध्ये सबैभन्दा प्रसिद्ध मानिन्छ; अरू तीन हुन् — चोभारको जलविनायक, भक्तपुरको सूर्यविनायक र काठमाडौँको अशोक विनायक।
जनश्रुति अनुसार उपत्यकामा १२ वर्षसम्म वर्षा नपरी खडेरी परेको बेला बुङ्गमती, भक्तपुर र काठमाडौँका राजादेखि तान्त्रिकसम्म मिलेर समस्या समाधानको प्रयत्न गर्दा कार्यसिद्धिदायक गणेशको स्थापना र पूजा आरम्भ भएको मानिन्छ। त्यहीबेलादेखि कुनै पनि काम सुरु गर्नु अघि यहाँ पूजा गरेमा काम सफलतापूर्वक पूरा हुन्छ भन्ने विश्वास स्थापन भएको र अधूरा काम पूरा भएपछि फेरि धन्यवाद दिन आएर पूजा गर्ने परम्परा बसेको छ।