17/06/2022
‘धान खेतीमा किसान’ फोटो प्रतियोगिता २०७९
१. ‘धान खेतीमा किसान’ फोटो प्रतियोगिता’ के हो ?
- यहि असार १ गतेदेखि किसानहरु धान रोपाईमा व्यस्त हुन्छन् । मुठी खाएर मुरी उब्जाउन किसानहरु रातदिन खटेका हुन्छन् । भोक प्यासलाई वेवास्ता गर्दै किसानहरु बढीभन्दा बढी धान उब्जाउनमा व्यस्त हुन्छन् । तिनै किसानहरुको मिहिनेत र परिश्रमको उच्च सम्मान गर्दै किसानको विविध सहभागितालाई अभिलेख र दस्तावेजीकरण गर्नु यो फोटो प्रतियोगिताको उद्देश्य हो । यो फोटो प्रतियोगिता चरिकोट मिडिया फाउन्डेसन द्वारा सञ्चालित गन्तव्य दोलखा डटकम ले आयोजना गरेको हो । डिजिटल क्यामेरा र स्मार्ट मोबाइल फोन प्रयोग गर्ने, फोटोग्राफीमा रुची राख्ने गाउँ र नगर तहका फोटोग्राफरहरुलाई उत्प्रेरित गर्नु पनि यो प्रतियोगिताको उद्देश्य रहेको छ ।
२. फोटो पठाउँदा के के कुरामा ध्यान दिने ?
- धान खेतीमा किसान–२०७९ मा कुनै पनि खेतीको प्रक्रियामा (गोरु जोत्दै, आली लगाउदै, धान बीउ गोर्दै÷बोक्दै, धान रोप्दै, खेतमा विभिन्न कार्यमा संलग्न किसानहरुको काम) लगायत गतिविधिमा किसान केन्द्रीत फोटो हुनुपर्नेछ ।
- प्रतियोगिताका लागि पठाउने फोटो न्यूनतम दुई मेगा पिक्सेलभन्दा बढी क्षमताको ‘मोबाइल–क्यामेरा’ ले खिचेको हुनुपर्नेछ ।
- फोटोलाई आकर्षक बनाउने भनेर विविध एप वा फिल्टर प्रयोग गर्न पाइने छैन ।
- फोटो आफैँले दोलखा जिल्लाभित्र खिचेको हुनुपर्नेछ । यदि अन्य जिल्लामा खिचेको र अरुले खिचेको फोटो पठाएको जानकारी पाएमा वा फोटोको बारेमा पछि कसैले दाबी÷विरोध गरेमा वा विवाद आएमा त्यसको जिम्मेवार फोटो पठाउने व्यक्ति स्वयमनै हुनेछ ।
- अरुले खिचेको वा कुनै पनि सामाजिक सञ्जालमा प्रकाशित भइसकेको फोटो पठाउन पाइने छैन ।
- प्रतियोगिताका लागि पठाइएको फोटो प्रतियोगीले नतिजा बाहिर नआउञ्जेलसम्म कुनैपनि माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक वा प्रकाशन गर्न पाइने छैन ।
- प्रतियोगिताका लागि पेश गरिएका फोटोहरु आयोजक संस्थाले आफ्ना प्रकाशनहरुमा प्रयोग गर्नेछ । यसरी प्रकाशन गर्दा फोटो फोटोग्राफरको नाम उल्लेख गरिनेछ । पेश गरिएका फोटोहरुको सर्वाधिकार आयोजक संस्थासँग रहनेछ ।
- प्रतियोगीले फोटो पेश गरेसँगै ‘यो फोटो आफूले नै खिचेको हो र आयोजकले तोकेका नियमहरु पालना गर्न तयार छु भनेर लेखी पठाउनुपर्नेछ ।
- प्रतियोगिताका लागि पेश गरिएका फोटोबारे कुनै किसिमको विवाद आएमा फोटो पठाउने व्यक्ति पूर्णरुपमा जिम्मेवार रहनेछ ।
३. प्रतियोगितामा फोटो पठाउदा
- एकजना प्रतियोगीले बढीमा २ वटासम्म फोटो पठाउन पाईनेछ ।
- फोटो, गन्तव्य दोलखाको इमेल ठेगाना [email protected] वा गन्तव्य दोलखाको फेसबुक पेज https://www.facebook.com/gantabyadolakha को मेसेन्जरमा २०७९ असार १ गतेदेखि असार १८ गतेसम्म पठाउनु पर्नेछ । असार १८ गतेपछि प्राप्त भएका फोटो प्रतियोगितामा समावेश गरिने छैन ।
- ‘धान खेतीमा किसान’ सँग सम्बन्धित फोटोहरु यो सूचना जारी हुनु अगाडि वा गत वर्ष खिचेको भए मान्य छैन् । फोटो यही वर्षको हुनुपर्ने छ ।
- फोटो पठाउँदा प्रतियोगीले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर पठाउनुपर्नेछ ।
- फोटो खिचेको मितिसहित फोटो सम्बन्धी छोटो जानकारी र फोटो खिच्नुको उद्देश्य लेखेर पठाउनुपर्नेछ ।
- फोटोमा एकजना मात्र पात्र (व्यक्ति) भएमा फोटोमा भएका व्यक्तिको नाम, ठेगाना, उमेर उल्लेख गरी पठाउनुपर्नेछ ।
४. छनोट प्रक्रिया र पुरस्कार
- तोकिएको समयभित्र प्राप्त भएका फोटो मध्येबाट छनोटका लागि निर्णायक मण्डल बनाइनेछ ।
- प्राप्त फोटोहरु निर्णायक मण्डलले पहिलो, दोस्रो र तेस्रो फोटो छनोट गर्नेछ । साथै निर्णायक मण्डलले नै पिपुल्स च्वाइस विधाका लागि फोटोहरु सिफारिस गर्नेछ ।
- ‘पिपुल च्वाइस’ विधाका लागि सिफारिस गरिएका फोटोहरुलाई गन्तव्य दोलखाको फेसबुक पेजमा प्रकाशन गरिनेछ । त्यसरी प्रकाशन भएका फोटोहरुलाई गन्तव्य दोलखाकै पेजमार्फत भएको लाइक र शेयरको आधारमा ७० र निर्णायक मण्डलले ३० अंकभार तय गरी विजेता घोषणा गर्नेछ ।
- गन्तव्य दोलखा फेसबुक पेज अनिवार्य लाइक गर्नुपर्नेछ । फोटो ग्राफर र फोटो दोलखा जिल्लाभित्रको मात्र हुनुपर्नेछ ।
- २०७९ असार २८ गते गन्तव्य दोलखाको सामाजिक सञ्जालमार्फत विजेताको नाम घोषणा गरिनेछ । र असार ३२ गते एक कार्यक्रमका साथ पुरस्कार वितरण गरिनेछ ।
- प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोले क्रमश ः रु.७ हजार, रु ५ हजार र रु. ३ हजार नगद पुरस्कार र प्रमाण–पत्र दिइनेछ ।
- फोटो प्रतियोगिता सम्बन्धी सम्पूर्ण प्रक्रिया र निर्णय आयोजक संस्था र निर्णायक मण्डलले गरेबमोजिम हुनेछ । यसमा कुनै दाबी वा विरोध मान्य हुनेछैन ।
- प्रतियोगिताका बारेमा थप जानकारी आवश्यक परेमा ९८५१०६९४८१ वा ९८५१२००९५३ मा फोन गरेर सोध्न सक्नुहुन्छ ।