11/06/2026
संसद्को इज्जत सांसदको उपाधिले मात्र होइन, हाउसको डेकोरम, विचारको स्तर, भाषाको मर्यादा, तथ्यमा आधारित बहस र कानून निर्माणको गम्भीरताले धानिन्छ। अहिलेको प्रश्न त्यही हो - हामी प्रतिनिधित्वलाई कमजोर नबनाई प्रतिनिधिको क्षमता कसरी बलियो बनाउन सक्छौँ? सांसदले संविधान, कानून निर्माण, बजेट, नियमावली, सार्वजनिक उत्तरदायित्व र संसदीय मर्यादाबारे न्यूनतम समझ राख्नैपर्छ। यो यदाकदा देखिने वा दुई–चार जना सांसदसँग मात्र सम्बन्धित समस्या होइन। संसद्प्रतिको आकर्षण र सम्मान घट्दै गएको संकेत गम्भीर छ। त्यसैले दलहरूले उम्मेदवार छनोट गर्दा कडा मापदण्ड अपनाउने, निर्वाचित भएपछि अनिवार्य संसदीय अभिमुखीकरण गराउने, विधेयक अध्ययन सहायता र अनुसन्धान सेवा सुदृढ गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, तथा संसदीय समितिहरूमा विषयगत क्षमता विकास गर्ने विषय अब थाती राख्न मिल्दैन। नाटक र प्रहसनमै राजनीति सीमित हुने हो भने प्रजातन्त्रको भविष्य कसरी सुरक्षित रहला?