15/08/2026
मधेशको कथा बोकेको बहुभाषिक फिल्म ‘प्रतिवैरम्’ मङ्सिर ४ मा रिलिज हुने, आक्रामक पोस्टर सार्वजनिक:
मधेशको सामाजिक परिवेश, संघर्ष, प्रेम र बदलाको कथामा आधारित चलचित्र ‘प्रतिवैरम्’ आगामी मङ्सिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले रिलिज मिति तय गर्दै फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेको छ।
सार्वजनिक पोस्टरको पृष्ठभूमिमा दन्किरहेको आगोको ज्वाला छ भने, केन्द्रमा डेब्यु अभिनेता सम्राट दासलाई रगताम्मे र आक्रामक अवतारमा प्रस्तुत गरिएको छ। उनले परम्परागत मधेसी पहिरनमा रहेकी भावुक अभिनेत्री सुप्रज्ञा शर्मालाई सुरक्षित राख्न अङ्गालोमा बेरेको दृश्यले फिल्मको एक्सन र प्रतिशोधको विषयवस्तुलाई प्रस्ट पारेको छ। यो फिल्म नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा रिलिज हुनेछ । रेज इन्टरटेनमेन्टको प्रस्तुतिमा सिम्पल एड मिडिया, श्रीयन इन्टरटेनमेन्ट र आदर्श प्रोडक्सन्ससँगको सहकार्य रहेको फिल्मको कथा लेखन तथा निर्देशन रोशन दासले गरेका हुन् । यसको पटकथा तथा संवाद युवराज भट्टराईले तयार गरेका हुन् भने निर्माता सत्यराज चौलागाईं ‘एसआरसी’ र हर्ष कुमार यादव रहेका छन् । यस्तै सह-निर्माताहरूमा अनिश पोखरेल, विक्की साह एक्जिक्युटिभ प्रोड्युसर र राकेश साह क्रिएटिभ प्रोड्युसरको रूपमा रहेका छन् । कृष्ण बर्देवा 'ज्याक'ले छायांकन गरेको फिल्मको कबिर ओड सम्पादन र श्याम कुँवरले रङ संयोजन गरेका हुन् । फिल्मको मुख्य कलाकारहरूमा सम्राट दास, सुप्रज्ञा शर्मा, वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, रमेश बुढाथोकी, प्रदीप ढकाल, रोनी यादव, नवीन श्रेष्ठ र नारायण बी.क. रहेका छन् । चारवटा भाषामा तयार भएको यस फिल्मले मधेशको वास्तविक कथालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने निर्माण पक्षको व्यावसायिक रणनीति रहेको छ।