27/07/2026
रिटायर हुने बेला पनि जबरजस्ती पुनर्बहालीको लागि अड्डी कसेर बसेका पुराना कांग्रेसीहरूसँग अब जोगाउन लायक केही बाँकी छैन। अलिकति पनि राजनीतिक नैतिकता र लाज बाँकी भएको भए उनीहरू १५औँ महाधिवेशनको तयारीमा जुट्थे। साँच्चै दम भएको भए विधानको बाटो समात्थे, महाधिवेशनमा प्रतिस्पर्धा गर्थे र कार्यकर्ताको निर्णय शिरोधार्य गर्थे। तर उनीहरूलाई लोकतान्त्रिक प्रतिस्पर्धा होइन, भागबन्डाको ढोका चाहिएको छ।
वर्षौँसम्म कांग्रेसलाई आफ्नै निजी सम्पत्ति ठान्दै आएका यी आउटडेटेड नेताहरू विशेष महाधिवेशनबाट राजनीतिक रूपमा अस्वीकृत भइसकेका पात्र हुन्। तर पनि कार्यसमितिमा आफूलाई स्थान नदिएसम्म पार्टीमा नफर्किने धम्की दिइरहेका छन्। यस्तो अडान उनीहरूले जति लामो समय राखे पनि कांग्रेसलाई कुनै घाटा छैन। बरु पार्टी पुरानो भारबाट मुक्त हुँदै जान्छ।
विशेष महाधिवेशनले बहुमतका साथ अस्वीकार गरिसकेको नेतृत्वलाई फेरि केन्द्रीय समितिमा घुसाउनुपर्ने कुनै नैतिक, राजनीतिक वा वैधानिक आधार छैन। दशकौँ राजनीति गरेर आफैँलाई 'वरिष्ठ नेता' को उपाधि दिनेहरूलाई आफ्नै पार्टीको विधानको सामान्य ज्ञानसमेत नभएको देख्दा विडम्बना लाग्छ। कार्यकर्ताको मतले अस्वीकार गरिसकेपछि पनि पदको लोभ नत्याग्ने नेतृत्व लोकतन्त्रको होइन, अवसरवादको प्रतीक हो।
समय बदलिएको छ। कांग्रेस पनि बदलिनुपर्छ। इतिहासको सम्मान गर्न सकिन्छ, तर इतिहासलाई घाँटीमा झुण्ड्याएर भविष्य निर्माण गर्न सकिँदैन। आज यी पात्रहरू कांग्रेसका लागि सम्पत्ति होइनन्, बोझ हुन्। समयले उनीहरूलाई नेतृत्वबाट बाहिर निकालिसकेको छ, अब पार्टीले पनि त्यो यथार्थ स्वीकार्न ढिला गर्नु हुँदैन।
अब साउन ६ गते वीपी दिवसका नाममा छुट्टाछुट्टै कार्यक्रम गरेर विभाजनको राजनीति प्रदर्शन गर्ने तयारी हुँदैछ। वीपी कोइरालाको नाम उच्चारण गर्ने नैतिक अधिकार त्यहीसँग हुन्छ, जसले उनको लोकतान्त्रिक मूल्य र संगठनात्मक संस्कारलाई सम्मान गर्छ। व्यक्तिगत अहंकार र पदलोलुपताको प्रदर्शन गर्न वीपीको नाम प्रयोग गर्नु उनको विरासतप्रतिको अपमान हो। अलिकति पनि आत्मसम्मान बाँकी भएको भए यी बुढा नेताहरू समानान्तर कार्यक्रम होइन, कार्यकर्ताको निर्णय स्वीकार गरेर सम्मानपूर्वक राजनीतिक अवकाश रोज्थे।
खैर, गगन थापालाई शुभकामना। लडाइँ अब पुरानो पुस्तासँग होइन, पुरानो मानसिकतासँग हो।